विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा असोज ११ गते (२७ सेप्टेम्बर २०२६) मिनी सडक महोत्सव हुने भएको छ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराले विश्वभर मनाइने ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा यो मिनी सडक महोत्सव आयोजना गर्न लागेको हो।
‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ भन्ने विश्वव्यापी मूल नाराका साथ यो महोत्सव सञ्चालन गरिनेछ।
अविरल वर्षा र विषम परिस्थितिका बिच पोखराका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानले जनाएको छ।
‘पर्यटन क्षेत्रले चुनौती सामना गरिरहेको अवस्थामा पोखरा खुला छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न खोजेका छौँ,’ रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले भने, ‘यसबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन भई पोखराको पर्यटन थप चलायमान हुनेछ।’
पर्यटनको मुख्य सिजन प्रारम्भ हुने समयसँगै आयोजना हुने यस कार्यक्रममार्फत पोखराको पर्यटन व्यवसाय, आतिथ्य, कला संस्कृति र परिकारलाई एकै ठाउँमा प्रस्तुत गरिनेछ।
महोत्सवको दिन बिहान ७ बजे लेकसाइडको खहरेचोकदेखि अम्मटसम्म पर्यटक दौड प्रतियोगिता सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रम अम्मट क्षेत्रमा हुनेछ। त्यसपछि मुख्य स्टेजमा बेलुका ५ बजेदेखि १० बजेसम्म सांस्कृतिक नृत्य तथा लाइभ ब्यान्ड प्रस्तुत गरिनेछ।
यो सांस्कृतिक नृत्य तथा लाइभ ब्यान्ड लेकसाइडको स्ट्रिट नम्बर ४ र ५ बिचको क्षेत्रमा सञ्चालन हुनेछ। सोही समयमा सेन्टर पोइन्ट चोकस्थित चौतारामा गन्धर्व गायन कार्यक्रम आयोजना हुनेछ।
