मुस्ताङको ५ चर्चित पदमार्गमा रोक, दामोदर र सरिबुङ ‘जोखिमपूर्ण’

मौसम प्रतिकूल भई हिमपात र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज ९ देखि ११ गतेसम्म उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा जान रोक लगाएको छ ।

साथै प्रशासनले अत्यन्त जरुरी कामबाहेक रातिको समयमा यात्रा नगर्नसमेत अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेपछि बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढेको हो । पूर्वतयारीसहित सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बेनी–जोमसोम–कोरला सडक, मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–डोल्पा जोड्ने याकखर्क तथा म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गअन्तर्गत धम्पुस पिकमा पदयात्रामा निस्कने पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेकी छन् ।

‘पूर्वतयारी र सतर्कताले विपदबाट जोगिन सकिन्छ । विगतमा हामीले अपनाएको विधिलाई यसपटक पनि कार्यान्वयन गर्छौँ । अहिले पर्ख र हेरको अवस्थामा छौँ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पासमा माघ महिनामा समेत पर्यटकहरू पदयात्रामा निस्किने गरेका छन् । तर अहिले हिमपातका कारण ती उच्च पदमार्गहरू जोखिमपूर्ण बनेका छन् ।

प्रजिअ शर्माका अनुसार हिमपातको जोखिममा रहेका पदमार्गहरूमा याकखर्क ५ हजार ८ सय मिटर, थोराङ्ला पास ५ हजार ४ सय मिटर, सरिबुङ पास ६ हजार मिटर र धम्पुस पिक समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा रहेका छन् ।

उच्च हिमाली क्षेत्र र धौलागिरि पदमार्गअन्तर्गतको धम्पुस पिकमा भारी हिमपातका कारण यात्रा जोखिमपूर्ण रहेको शर्माले बताइन् । ‘पदमार्ग क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको छ । पर्यटक समस्यामा परे उद्धारमा समेत निकै कठिनाइ हुन्छ,’ उनले भनिन् ।

यसैबीच उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित दामोदरकुण्ड क्षेत्र र मनाङको नार–फु उपत्यका जोड्ने सरिबुङ पासलाई सबैभन्दा जोखिमपूर्ण मानिएको छ । यस क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

रातिको समयमा जोखिम थपिने भएकाले मुस्ताङ र म्याग्दी प्रशासनले बेनी–जोमसोम सडकखण्डसमेत बन्द गर्ने गरी संयुक्त तयारी गरिरहेको जनाइएको छ ।

Exit mobile version