जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अपरेशन’ तथा ‘अपरेशन ३६५’ अन्तर्गत ६ जना व्यक्ति पक्राउ गरेको छ भने १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका ४ गते साँझदेखि रातिसम्म पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक र लेकसाइड क्षेत्रमा खटिएको प्रहरी टोलीले सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै होटलतर्फ लैजाने तथा कुराकानी गर्ने २ जना र अफलाइन पठाउने तथा ई–ड्राइभिङ गर्ने ४ जनासहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।
त्यस्तै,अपरेशन ३६५ अन्तर्गत सवारी साधनको स्वरूप परिवर्तन गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने, पड्काउँदै हिँड्ने तथा होहल्ला गरी उच्छृंखल गतिविधि गर्ने १७ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिलेन्द्रकुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
