३० लाख घुस खाएको आरोपपछि निवर्तमान मन्त्रीमाथि छानबिन गर्दै एमाले गण्डकी

नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डेमाथि पार्टीले छानबिन सुरु गरेको छ ।

पाण्डेसँगै उनका स्वकीय सचिव यादव पौडेलउपर छाानबिन गर्न एमाले गण्डकी प्रदेश सभा संसदीय दलले १५ दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन गरेको छ ।

पद्म नर्सिङ होमलाई ५० शय्याबाट सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि पाण्डे र पौडेलमाथि पार्टीले एक्सन लिएको हो ।

दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी सदस्य छन्।

एमाले प्रदेश सभा संसदीय दलको कार्यालयले २०८३ असोज ४ गते जारी गरेको पत्रमा पद्म नर्सिङ होमलाई १०० शैयाको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

उक्त पत्रमा तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलको संलग्नतासम्बन्धी विषयमा समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ।

‘उक्त विषयमा १५ दिनभित्र तथ्य सत्य छानबिन गरी प्रतिवेदन पेस गर्न’ समिति गठन गरिएको पत्रमा उल्लेख छ।

समितिलाई आवश्यक कार्यादेशसमेत दिएर छानबिनको काम अघि बढाइएको एमालेले जनाएको छ।

पद्म नर्सिङ होमको १०० शैयाको अस्पताल सञ्चालन अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, उनका स्वकीय सचिव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा। युवानिधि बसौलाको भूमिकामाथि प्रश्न उठाउँदै यसअघि अनुसन्धानात्मक सामग्री सार्वजनिक भएको थियो।

अस्पतालको खाताबाट यादव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक गरिएको थियो। पौडेलले भने आफूले उक्त रकम नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्ने आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन्।

पाण्डेले रोकिएको काम फुकाउन स्वकीय सचिवसँग समन्वय गर्न भनेको तर आफूले रकम लिन नभनेको जनाएका छन् ।

Scroll to Top