पुर्णबहादुर खड्का
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाजिको नेतृत्वमा रहेको नेपाली कांग्रेसको महाधिवेशन प्रारम्भ भइरहेको सन्दर्भमा मेराबारेमा सामाजिक संजाल र केही सञ्चार माध्यममा बिभिन्न टिप्पणी आएको सन्दर्भमा केही कुरा प्रष्ट पार्नु मेरो कर्तव्य ठान्दछु ।
सम्बन्धित सबैमा प्रष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रकृयामा मेरो सहभिगिता छैन र रहने छैन ।
कारण स्मरण गराउन चाहान्छु, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मेरो उम्मेदवारी भएन । त्यसको मुल कारण थियो विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानुनतः, पार्टीको बिधानको प्रबन्ध, राजनीतिक दल सम्बन्धि ऐन, निर्वाचन आयोगको विगतमा राजनीतिक दलको विवाद निरुपण गर्दा स्थापित नजिरको बिपरित भएको दाबिसहित हामी सर्वोच्च अदालतमा न्यायका लागि गएको अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो बिश्वासका कारणले म चुनावमा उम्मेदवार बनिन ।
आज फेरि महाअधिबेशनको बारेमा ठ्याक्कै त्यहि परिस्थित सृजना हुन गयो । सर्वोच्च अदालतको डिभिजन बेन्चबाट हाम्रो माथिको दाबिको बिपरित निर्णय आयो, त्यसपछि हामी फेरि कानुनि प्रबन्ध बमोजिम डिभिजन बेन्चको निर्णयको बिरुद्धमा सर्वोच्च अदालतमा पुनरावलोकनको लागि गयौ र सर्वोच्च अदालको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रकृया र डिभिजन बेन्चको निर्णयमा त्रुटी देखाउदै मुद्दा पुनरावलोकन गर्ने गरि हामीलाई निस्सा दियो र सो मुद्धा हाल सर्वोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको छ, यस्तो अबस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको काँग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो बिश्वासको कारणले म महाधिबेशनमा सहभागी नभएको ब्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु ।
यसै प्रसङ्गमा सम्मानित सर्वोच्च अदालत प्रति मेरो आस्था र बिश्वास रहँदारहँदै पनि सर्वोच्च अदालतबाट अपनाईएको प्रकृयाका बारेमा केही लेख्नै पर्ने अबस्था मेरा सामु उपस्थित भयो ।
पुनरावलोकनको लागि निस्सा दिएको अवस्थामा सभापति गगन थापाको नेतृत्वमा महाधिवेशन प्रकृया अगाडि बढाउने निरर्णय भएसँगै बिचाराधिन पुनरावलोनको मुद्दाको अन्तिम टुङ्गो नलागे सम्म महाधिबेशनको सबै प्रकृया रोकि पाउ भनी कानुनि प्रबन्ध बमोजिम सर्वोच्च अदालतमा रोक्काको निबेदन लिएर गयौ ।
हाम्रो बुझाईमा सामान्यतयः महाधिवेशन रोक्का हुने अबस्थाको प्रतिकुल पूर्ण ईजलासले सम्माननिय प्रधानन्यायाधीश रहेको पूर्ण ईजलासबाट दिइएको पुनरावलोकनको आदेशलाई समेत सेन्सरनै गर्ने गरि महाधिबेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारि गरि दिएन, जसको परिणाम नेपाली कांग्रेसको नाममा अलग अलग दुईवटा महाधिबेशन हुने अबस्था सृजना भयो ।
अब यदि कुनै चमत्कार भएन भने नेपाली काँग्रेस पार्टी बिभाजनको अन्तिम डिलमा पुगेको अबस्था छ । पार्टीका आदरणीय सबै साथीहरू, तै पनि हामी सम्भावित पार्टी बिभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौ ।
मेरो बुझाईमा, इतिहासमै आजको देशको अतिनै विषम परिस्थितिमा यदि उपरोक्त कारणले नेपालको राजनीतिक परिबर्तनका सबै आन्दोलन र अभियानको नेतृत्व गरेको सबै भन्दा पुरानो ऐतिहासक पार्टी बिभाजन भयो भने यसबाट केवल हामी काँग्रेसजनको क्षति मात्र हुने छैन, यसले नेपालको लोकतन्त्रसँगै पार्ने बहुआयमिक दुष्प्रभाव भयानक हुनसक्ने सम्भावना लाई नजरअन्दाज गर्न नमिल्ने खालका संकेतहरु देखिदै छन् ।
यस परिवेशमा सम्मानित सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीशज्यु र माननीय न्यायाधीशज्युहरुसँग हाम्रो बिनम्रतापूर्बक आग्रह, अनुरोध र अर्जि छ कि सर्वोच्चमा बिचाराधीन नेपाली काँग्रेसको पुनरावलोकनको मुद्दालाई यहाहरुको मुल्यांकनमा परिस्थितिको गंभीरताको आंकलन गर्नु भई मुद्धालाई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथाशीघ्र गरिदिनुहोस् । सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ ।
(खड्का शेरबहादुर देउवा समूहका उपसभापति हुन् ।)







