देउवा समूहले भन्यो – ‘आत्मसम्मानमा ठेस पुग्यो, छुट्टै महाधिवेशन गर्छौं’

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ ।

देउवा पक्षले आज पत्रकार सम्मेलन गरी संस्थापनले गरेको निर्णयकै आधारमा असोज ३ गते वडा अधिवेशनमा सहभागी नहुने बताएको हो ।

देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढाउनुलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताए ।

‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढाउनु कुनै पनि हालतमा उचित मान्न सकिन्न’ कोइरालाले भने ।

उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गरे ।

उनले भने– ‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’

डा कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँटलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाइ छ ।

उनले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेको बताए ।

डा. कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे ।

‘१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछु’ कोइरालाले भने ।

सोही पत्रकार सम्मेलनमा पूर्वप्रवक्ता प्रकाशरण महतले संस्थापनले सहमतिको सार्थक प्रयास नै नगरी मिडियाबाजी मात्रै गरेको आरोप लगाए ।

Exit mobile version