नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख विदुर चुडालका अनुसार शुक्रबार मात्रै एकै दिन २७ करोड ११ लाख रुपैयाँ राजस्व उठेको छ । भदौ २२ यता दैनिक औसत ३० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन भइरहेको चुडालले बताए ।
शुक्रबार ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारी साधन (इभी)को भन्सार जाँचपास गरिएको छ । भदौ १० यता २५ गतेसम्म कोरलानाकाबाट ४३४ वटा कन्टेनर र ६४१ वटा इभी भन्सार जाँचपास भएर भित्रिएका छन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ सम्म कोरलानाका हुँदै कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको छ ।
२०८० असोज अघि उपल्लो मुस्ताङका स्थानीयका लागि मात्र खुला गरिएको कोरलानाकालाई नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरेको थियो । गत आव २०८२/८३ मा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
