भोटेकोशी बाढीबाट प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाका पीडित परिवारका लागि पोखरा महानगरपालिकाबाट ५ ट्रक राहत सामग्री पठाइएको छ।
प्रभावित १६५ परिवारका लागि भान्सामा आवश्यक खाद्यान्न, लत्ताकपडा, बिस्तारा, भाँडाकुँडालगायतका अत्यावश्यक सामग्रीको सेट तयार गरी पठाइएको हो।
राहत सामग्री लिएर ५ वटा ट्रक र नगर प्रहरीको १ वटा भ्यान गरी ६ वटा सवारीसाधनमा २३ जना चालक, कर्मचारी तथा नगर प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
त्यसरी नै महानगरपालिकामा संकलित औषधि नेपाली सेनाको विजयपुर ब्यारेकमार्फत प्रभावित क्षेत्रसम्म पुर्याउने व्यवस्था गरिएको छ।
यसअघि पनि पोखरा महानगरपालिकाबाट स्वास्थ्यकर्मी तथा नगर प्रहरीको टोली धादिङ जिल्लाका विभिन्न स्थानमा परिचालन भई उद्धार तथा स्वास्थ्य सेवा प्रदान गरेको थियो।
विपद्को समयमा आवश्यकताअनुसार प्रभावित क्षेत्रसम्म पुगेर सहयोग गर्ने हाम्रो प्रयास निरन्तर रहेको महानगरले उल्लेख गरेको छ ।
संकटको यस घडीमा प्रभावित नागरिकको साथमा पोखरा महानगरपालिका सदैव साथ रहने मेयर धनराज आचार्यले जनाएका छन् ।







