डुम्रे ओपीडी अस्पताल सञ्चालनको तयारीमा, आइपुग्यो आवश्यक सामग्री

शम्भु श्रेष्ठ,तनहुँ ।डुम्रे क्षेत्रमा स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डुम्रे ओपीडी अस्पताल सेवा छिट्टै सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक अधिकांश सामग्रीहरू आइसकेका छन् भने अस्पताल परिसरको सरसफाइ, व्यवस्थापन तथा पूर्वाधार तयारीको काम अगाडि बढाइएको छ ।

सेवा सञ्चालनपूर्व परिसरलाई व्यवस्थित बनाउन आज जनप्रतिनिधि, टोल विकास समिति तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

सरसफाइ कार्यक्रममा सहभागीहरूले अस्पताल परिसर वरपरका झाडी तथा अनावश्यक वनस्पति हटाउँदै वातावरण सफा र व्यवस्थित बनाएका थिए ।

स्थानीय तह, जनप्रतिनिधि र समुदायबीचको सहकार्यले अस्पताल सञ्चालनको तयारीलाई थप उत्साहजनक बनाएको सहभागीहरूले बताएका छन् ।

डुम्रे ओपीडी अस्पताल सञ्चालनमा आएपछि डुम्रे तथा आसपासका नागरिकले सामान्य स्वास्थ्य समस्या तथा आवश्यक स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि यस क्षेत्रका सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

अस्पताल सञ्चालनको तयारीसँगै स्थानीय समुदायमा उत्साह बढेको छ। सेवा नियमित, प्रभावकारी र गुणस्तरीय रूपमा सञ्चालन गर्न सबै पक्षको निरन्तर साथ र सहयोग आवश्यक देखिन्छ ।

Exit mobile version