पोखरेली पर्यटन व्यवसायीद्वारा राहत कोषमा २९ लाख बढी सहयोग

पोखरा होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ ।

संघका तर्फबाट दुई लाख, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङमार्फत प्रदान गरिएको छ ।

सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोगबारे समेत जानकारी प्रदान गरिएको थियो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो ।

संघ अन्तर्गतका होटलबाट यसअघि स्वस्फुर्त रुपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम ४० लाख रुपैयाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए । सहयोग आउने क्रम निरन्तर रहेको जानकारी दिंदै अध्यक्ष सुवेदीले भविष्यमा पनि यो क्रम जारी रहने बताए ।

सो अवसरमा प्रजिअ गुरुङले विपतमा परेकालाई राहतकोषमार्फत् संघ लगायतका होटल र संस्थाले गरेको सहयोगको सराहना गरे ।
‘तपाइँहरुले मन फुकाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ’, उनले भने ।

राहत कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख रुपैयाँ मौज्दात रहेको सरकारले जनाएको छ ।

Scroll to Top