गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले जेनजी शहीद स्मृति दिवसका अवरसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूप्रति अनावश्यक टिप्पणी गरेको भनेर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाली कांग्रेसकी सांसद रीना उप्रेतीले भनिन्, ‘हिजो जेनजी स्मृति दिवस मनाइरहँदा कार्यक्रमको मञ्चबाट गृहमन्त्रीले स्वतन्त्र चार पत्रकारहरूलाई, सञ्चारकर्मीलाई धम्क्याउनुभयो ।’
साथै, नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस भएको बताइन् ।
नागरिकको आवाज राज्यसम्म पुर्याउने र सरकारलाई जनताप्रति जवाफदेही बनाउने संचार क्षेत्रलाई कमजोर पार्ने कुनै पनि निर्णय स्वीकार्य नरहेको बताइन् ।
सांसद यादवले लोककल्याणकारी विज्ञापनसम्बन्धी सरकारको नीति समेत सच्याउन आवश्यक रहेको बताइन् ।
मंगलबार पुरानो संसद् भवन प्राङ्गणमा जेनजी शहीद नेपाल र जेनजी शहीद परिवार कल्याणकारी समितिले जेनजी शहीद स्मृति सभा राखेका थिए । प्रमुख अतिथि गृहमन्त्री सुधन गुरुङ थिए । मन्त्रीहरू सोबिता गौतम, महावीर पुन, सुनिल लम्साल, अतिथि थिए ।
उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको अभिव्यक्तिलाई लिएर संसद्मा प्रश्न उठेको हो ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले पनि जेनजी सहिद दिवसका सन्दर्भमा सरकारका मन्त्रीबाट व्यक्त केही विचार अत्यन्तै चिन्ताजनक र खेदजनक रहेको बताए ।
‘अहंकार र दम्भ त्यो भन्दा कयौँ गुणा चर्को छ, जुन पहिला पहिलाका शासकहरुमा देखिन्थ्यो’ उनले भनेका छन्, ‘उहाँकै भाषामा भन्दा राजनीति सिकाउन आएकाहरुले शुरु गरेको यो त्रासको शासनको गन्तव्य लोकतन्त्र नै हो कि निरंकुशतन्त्र हो ?’
यो गम्भीर प्रश्न खडा भएको भन्दै उनले थपे, ‘सत्तारुढ दलले गम्भीर समीक्षा गरोस् ।’







