पोखरामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
पोखरा–बुद्धचोक क्षेत्रमा आज दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए भने घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृत्यु हुने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारण र मृतकको पहिचानबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।






