दोस्रो दौतरी कपको उपाधि सेन्ट फ्रान्सिसलाई, फाइनलमा बालोदयमाथि २–० को जित

पोखरा । दौतरी समूह रामबजारको आयोजनामा सञ्चालित दोस्रो दौतरी कप विद्यालयस्तरीय फुटसल प्रतियोगिता–२०८३ को उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ ।

आज पोखरा रङशालाको कभर्ड हल भित्र भएको फाईनल खेलमा बालोदय सेकेण्डरी स्कुललाई २–० गोलले पराजित गर्दै सेन्ट फ्रान्सिस च्याम्पियन बनेको हो ।

उपाधिसँगै सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बालोदय सेकेण्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधिसँगै नगद ११ हजार १ सय ११ रुपैयाँ, प्रमाणपत्र र शिल्ड प्राप्त गर्‍यो ।

सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे भने सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगरले बेस्ट गोलकिपरको उपाधि हात पारे । त्यस्तै बालोदयका विकलेस बल थापाले बेस्ट प्लेयरको उपाधि हात पारे । विधागततर्फ उत्कृष्ट घोषित भएका उनीहरुले जनही नगद ५/५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको अवसरमा नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै आयोजक दौतरी समूह रामबजारले दुई जना वरिष्ठ फुटबल प्रशिक्षकलाई विशेष सम्मान गरेको छ ।

समूहले वरिष्ठ फुटबल कोच खेमबहादुर गुरुङ र वरिष्ठ फुटबल कोच शम्भू केसीलाई सम्मान गरेको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ, दौतरी समूहका अध्यक्ष मनोज गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा, सहप्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी वितरण गर्दै आयोजकहरूले आगामी दिनमा पनि यस्ता रचनात्मक खेलकुद प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Exit mobile version