शून्यबाट करोडमा पुगेकी तारालाई बाढीले शून्यमै झारिदिएपछि …

नवीन बराल/देवीघाट, नुवाकोट

मानिसको जीवनमा सफलता पाउन कति सङ्घर्ष गर्नुपर्छ भन्ने उदाहरण थिइन्, नुवाकोट देवीघाटकी तारा तामाङ। तर, एउटा प्राकृतिक विपत्तिले उनको वर्षौँको पसिना र करोडौँको लगानीलाई एकैछिनमा बगाएर फेरि ‘शून्य’मा पुर्‍याइदिएको छ।

नुवाकोटको देवीघाटमा बेकरी व्यवसाय सञ्चालन गर्दै आएकी ताराले आफ्नो व्यवसायलाई शून्यबाट सुरु गरेर करोडौँको सम्पत्ति बनाउन सफल भएकी थिइन्। तर, हालै आएको विनाशकारी बाढीले उनको सबै सपना र सम्पत्ति बगाएपछि अहिले उनी सडकमा पुगेकी छिन्।

बाढीपछि आफ्नो भत्किएको घर र हिलोले पुरिएको कार्यस्थलबाट सकिनसकी केही थान बाँकी रहेका लत्ताकपडा निकाल्दै गर्दा भेटिएकी ताराको अवस्था निकै कारुणिक देखिन्थ्यो। आफ्ना दुई साना छोरीहरूको भविष्यका लागि उनले दिनरात नभनी गरेको दुःख अहिले हिलो र बालुवामा मिसिएको छ।

आफ्नो पीडा सुनाउँदै तारा भन्छिन्, ‘मैले धेरै दुःख गरेर, वर्षौँसम्म मासुसमेत नखाई पैसा बचाएर यो सम्पत्ति जोडेकी थिएँ। दुई छोरीका लागि भनेर सबै जोहो गरेकी थिएँ, तर बाढीले केही बाँकी राखेन। अहिले घरबाट एउटा झोलामा केही लुगा मात्र निकाल्न सकेँ।’

‘मैले कसैको चोरी गरेको थिइनँ, कसैलाई ठगेको पनि थिइनँ। आफ्नै दुःखले कमाएर बनाएको सम्पत्ति थियो। यस्तो दुःख कसैलाई पनि नपरोस्। अहिले मसँग एक रुपैयाँ पनि बाँकी छैन’ रुँदै उनले थपिन्, ।

सङ्घर्षशील उद्यमी महिलाको रूपमा चिनिएकी ताराको यो अवस्थाले स्थानीय बासिन्दालाई समेत स्तब्ध बनाएको छ। आफ्नै पौरखले उभिएकी एक महिलालाई परेको यो बज्रपातमा साथ दिन अहिले विभिन्न क्षेत्रबाट आग्रह गरिएको छ।

सहयोगको अपील:
बाढीले सबै थोक गुमाएकी उद्यमी तारा तामाङलाई पुन: स्थापित गर्नका लागि सहयोगी हातहरूको खाँचो छ। यदि तपाईं उहाँलाई कुनै पनि प्रकारको सहयोग गर्न चाहनुहुन्छ भने सिधै सम्पर्क गर्न सक्नुहुनेछ:

  • नाम: तारा तामाङ
  • स्थान: देवीघाट, नुवाकोट
  • सम्पर्क नम्बर: ९८१३०६६६२९

विपत्तिका बेला सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। तारालाई पुन: आफ्नो खुट्टामा उभिन मद्दत गरौँ।

(बराल डकुमेन्ट्री फोटोग्राफर, साइक्लिङ्मा संलग्न छन् ।)

(https://www.facebook.com/nabinphotos)

Exit mobile version