सर्वदलीय सहमतिपछि पोखराको जौबारीमा ७८ शव व्यवस्थापन

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बिहान बसेको सर्वदलीय बैठकमा शव व्यवस्थापनको सहमतिपश्चात् आजदेखि सुरक्षा र स्वास्थ्यकर्मी व्यवस्थापनमा जुटेका छन् ।

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बिनासकारी बाढीपछि पोखरामा संकलित शव मध्ये हालसम्म पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पुरा गरी व्यवस्थापन गरिँदैछ ।

पोखराको वडा १६ मा रहेको जौबारीस्थित सिँचाईको गाँडतारा क्षेत्रमा शव व्यवस्थापन थालिएको हो ।

शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी ७८ शवलाई जमिनमुनि व्यवस्थापन गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताएका छन् ।

‘डीएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम गरिएको छ’ उनले भने ‘डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको हो ।’

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ ।

पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार नै व्यवस्थापन गरिएको प्रशासनले स्पष्ट पारेको छ । अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् ।

शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।

Exit mobile version