पोखरामा विश्वकर्मा कप वडा भलिबलको तयारी, विजेताले लाख पाउने

विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा आगामी असोजमा ९औँ विश्वकर्मा कप–२०८३ वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा असोज १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालभरिका जुनसुकै वडाले सहभागिता जनाउन सक्ने आयोजकले बताए ।

विश्वकर्मा समाज नेपालले विश्वकर्मा पूजाको अवसर पारेर विगत एक दशकदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष देशमा भएको ‘जेन्जी’ आन्दोलनका कारण प्रतियोगिता हुन नसकेपछि यस वर्ष पुनः निरन्तरता दिँदै नवौँ संस्करण आयोजना गर्न लागिएको हो ।

विश्वकर्मा समुदायको पहिचान, एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायका विभिन्न तह र क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै भलिबल खेलको समग्र विकास, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, स्वस्थ प्रतिस्पर्धा, अनुशासन तथा आपसी भाइचाराको भावना विकास गर्ने उद्देश्य बोकेको छ ।

प्रतियोगितामा नेपालभरिका जुनसुकै वडाले आफ्नो प्रतिनिधित्व गर्दै सहभागिता जनाउन सक्नेछन् । सहभागी टिमको संख्या २० मा सीमित नरहने भएकाले २० भन्दा बढी टिमको सहभागिता हुन सक्ने आयोजकले जनाए ।

इच्छुक वडा तथा टिमले भदौ ३१ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ । आयोजकले देशभरिका इच्छुक वडा तथा खेलाडीलाई निर्धारित समयभित्र टिम दर्ता गरी सहभागिताका लागि आग्रह गरेको छ ।

प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रथम हुने टिमले १ लाख रुपैयाँ, द्वितीयले ५० हजार र तृतीय हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक तथा प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले बताए ।

प्रतियोगिताको क्रममा विश्वकर्मा समुदायको कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने भएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य तथा व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको छ । प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण वडाध्यक्ष, खेलाडी, खेलप्रेमी, संघसंस्था, शुभेच्छुक तथा आम सर्वसाधारणको सहयोग र सहभागिताका लागि आग्रह गरे ।

Exit mobile version