पोखराको पुरानो एअरपोर्ट नजिकैको मेयर हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाउँदा एकै परिवारका आमा र छोरीको ज्यान गएको छ ।
घटनामा २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको मृत्यु भएको हो । शुक्रबार दिउँसो बिरौटाबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटरबाट ओर्लने क्रममा उनीहरुलाई नालीको पानीले बगाएको थियो ।
स्कुटर सुष्माका श्रीमान ३० वर्षका कमल दाहालले चलाएका थिए । पानी अत्यधिक परेपछि कमले बाटोमा स्कुटर साइड लगाएर झर्न खोज्दा सडक किनारको नालीमा बगिरहेको तीव्र भेलले पहिला छोरीलाई बगाएको थियो ।
छोरीलाई समाउने क्रममा आमा सुष्मालाई समेत नालीले बगाएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा उनीहरुलाई दिउँसो ४ बजेर २३ मिनेट जाँदा बिरौटास्थित नहरको कुलोबाट उद्धार गरिएको थियो ।
उद्धारपछि दुवै जनालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनकी छोरी रानीकाको शनिबार बिहान १ बजेर २१ मिनेटमा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।
