सय बढी शव पोखरा ल्याइयो, पहिचान र परीक्षण जारी

त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। त्यस्तै, थप शवसमेत ल्याइने र व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले नवलपुर, धादिङ, गोरखा र तनहुँ लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

बिहीबार राति नवलपुरबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको मात्रै क्षमता छ।

मणिपाल शिक्षण अस्पतालमा ८, फूलबारीस्थित आर्मी हस्पिटलमा ४, प्रदेश अस्पताल पोखरा, गण्डकी मेडिकल कलेज, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमा २-२ शव राख्ने गरी व्यस्थापन गरिएको बरालले जानकारी दिए ।

Exit mobile version