न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन्।
जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई अनुबन्ध गरेको जनाएको छ ।
निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
सो क्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।
पहिलो सिजनको एनपिएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए । जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए ।
‘जिम्मीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरुको मनमा पनि विशेष स्थान बनाएका छन्, उनको निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बन्ध आफैंमा एउटा सुन्दर कथा हो । च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नै घर फर्किएका छन्’ बोल्ट्सका सीइओ निरोज खतिवडाले लेखेका छन् ।
