काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-३१ बस्ने २७ वर्षीय राज कठायत रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ९:३० बजे काठमाडौँ महानगरपालिका-१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डको आकाशे पुलमुनि घटना भएको हो।
सवारी चाप बढी भएको समयमा ड्युटीमा खटिएका प्रहरीले कठायतलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए। तर, उनले प्रहरीको आग्रह नमानी गालीगलौज तथा हातपात गरेको प्रहरीको दाबी छ।
घटनापछि उनलाई नियन्त्रणमा लिई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ।







