पोखरामा निरन्तर ग्यासको आपुर्ति भइरहे पनि सर्वसाधारणको पहुँचमा पुग्न नसकेको पाइएको छ । जसलाई चरितार्थ गर्छ एक सुत्केरीको भोगाइले ।
पोखराको गैह्रापाटनमा भाडामा बस्दै आइरहेकी उनले ग्यास अभावमा मैनबत्ति बालेर कचौरामा दूध उमालेर बच्चालाई खुवाएको घटना स्थानीयले बताएका छन् ।
उनको त्यस्तो अवस्था चाल पाएपछि घरबेटी र आमा समूहले यस विषयमा उपभोक्ता अधिकारकर्मीलाई बताएपछि शनिबार उनलाई ग्यास उपलब्ध गराइएको छ ।
यस विषयमा अधिकारकर्मी कपिलनाथ कोइरालासँग सम्पर्क गर्दा घटना सत्य भएको र मानवीय नाताले एक थान सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरेको जनाए ।
हाल राष्ट्रिय उपभोक्ता मञ्च, गण्डकी प्रदेश अध्यक्षसमेत रहेका कोइरालाले भने ‘घरबेटीले आमा समूहलाई भनेपछि कुरा म सँग पनि आइपुग्यो, यता-उता भनेर मुस्किलले उपलब्ध गराएका छौं ।’
केही दिनदेखि उनले मैनबत्ति बालेरै दूध उमाल्ने गरेको पछि मात्र घरबेटीले थाहा पाएको कोइरालाले सुनाए ।
ग्यासको अभावले भाडामा बस्ने र विद्यार्थीहरु बढी मर्कामा परेको उनको भनाई छ । ‘हाम्रै छरछिमेकीले ३ वटा भन्दा बढी ग्यासका सिलिण्डर संचय गरेको सुन्नमा आएको छ, न त यसलाई रोक्न सकिन्छ न नगर भन्न सकिन्छ’ कोइरालाले सुनाए ।
हालको असहज अवस्थामा महिना दिनलाई पुग्ने ग्यास सञ्चय गरे समस्या केही दिनमै टर्ने कोइरालाको बुझाई छ ।
एआई सिर्जित तस्बिर ।







