राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट अध्यक्षसहित सात सदस्य निर्वाचित भएका छन्। सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट, गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी चयन भए।
मञ्चको विधानअनुसार प्रदेश कार्यसमिति १५ सदस्यीय रहने व्यवस्था छ भने बाँकी सात सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ। निर्वाचन समितिका संयोजक अधिवक्ता विरेन्द्र केसीले निर्वाचित पदाधिकारीको घोषणा गरेका थिए। समितिमा मुना बाँस्तोला र महेन्द्र अधिकारी सदस्य रहेका थिए।
निर्वाचनलगत्तै अध्यक्ष कोइरालाले सुनिल उलक र बेबी श्रेष्ठ गोंगजूलाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन्। बाँकी पाँच सदस्य पछि मनोनयन गरिने उनले जानकारी दिए।
अधिवेशनपछि बसेको पहिलो बैठकले पदाधिकारीसमेत चयन गरेको छ। उपाध्यक्षमा रमेश पौडेल र राजु अधिकारी, सचिवमा गीता आचार्य, सहसचिवमा हरि खनाल तथा कोषाध्यक्षमा मीना रानाभाट चयन भएका छन्। कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन र गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष कपिलनाथ कोइरालाले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।
सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष महर्जनले उपभोक्ता अधिकारकर्मी राज्य र समाजलाई सही दिशामा लैजान सजग हुनुपर्ने बताए। मञ्चले उपभोक्तासँगै व्यवसायीको हितलाई पनि समान रूपमा अघि बढाएको विश्वास स्थापित गर्न सफल भएको उनको भनाइ थियो।
अध्यक्ष कोइरालाले उपभोक्ता अधिकार संरक्षणमा मञ्च निरन्तर सक्रिय रहेको उल्लेख गर्दै २१ वर्षपछि पहिलो पटक गण्डकी प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्न सफल भएको बताए।
उनले आफ्ना पिताको स्मृतिमा २५ हजार रुपैयाँ राशिको गण्डकी प्रदेशस्तरीय पुरस्कार स्थापना गर्ने घोषणा पनि गरे। उक्त पुरस्कार हरेक वर्ष प्रदेशका उत्कृष्ट कर्मचारी, अभियन्ता, व्यवसायी, पत्रकार वा लेखकमध्ये एक जनालाई प्रदान गरिनेछ।







