जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारहरू बीच प्रभावकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्।
योजनाको छनोट र कार्यान्वयनका लागि स्पष्ट कानुनी र व्यवस्थित संरचना निर्माण जरुरी देखिएको उनले बताइन्।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरे अनुसार समीक्षा कार्यक्रम अर्ध वार्षिक र वार्षिक रूपमा आयोजना गर्ने गरेको बताए।
प्रमुख पौडेलले विकासका योजना छनोट प्रक्रिया र प्राथमिकीकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गरे। उनले कास्कीका पालिकाहरूलाई सुशासन, पारदर्शिता र जवाफदेहिता सहितका सेवा प्रवाहमा ध्यान दिन आग्रह गरेका छन्।
पौडेलले कास्कीका पालिकाहरूलाई बेरुजुमुक्त पालिका बनाउन समेत आग्रह गरे। शुक्रबार कास्कीका पोखरा महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाहरूको आर्थिक वर्ष २०८२/८३ को समीक्षा गरिएको छ।
आगामी सोमबार विकास तर्फका कार्यालय एवं मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ सहितले मन्तव्य व्यक्त गरे।
समीक्षामा कास्कीका पालिकाका प्रमुख, कार्यकारी अधिकृत, नागरिक समाजका अगुवाहरू र उद्योगी व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







