कास्कीका क्रिकेटरलाई स्थानान्तरणको मौका, भदौ मसान्तसम्म सीमा

कास्की जिल्ला क्रिकेट संघले विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको स्थान्तरण सम्बन्धमा जानकारी सार्वजनिक गरेको छ।

संघले नेपाल क्रिकेट संघको मिति २०८३ साउन २७ गतेको पत्र र वार्षिक कार्यक्रम अनुसार यो विवरण सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष २०८३/८४ मा संचालन हुने राष्ट्रिय प्रतियोगिताका लागि अन्य प्रदेश वा विभागीय टिममा स्थानान्तरण हुन चाहने खेलाडीले तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने छ।

यसका लागि खेलाडीले २०८३ भदौ ३१ गतेभित्र आफू पहिले आबद्ध रहेको जिल्ला संघबाट ‘रिलिज लेटर’ लिनुपर्ने संघका सचिव विजय राउतले जनाएका छन्।

स्थानान्तरण हुन चाहने खेलाडीले सम्बन्धित प्रादेशिक क्रिकेट संघको स्वीकृति पत्र र आफू आबद्ध हुन लागेको टिमको नाम अनिवार्य रुपमा संघमा पेश गर्नुपर्ने छ।

तोकिएको मिति पछि अन्य जिल्ला, प्रदेश वा विभागीय टिमबाट स्थान्तरण भई सहभागी हुन नपाउने उनले बताए।

विभागीय टिममा आबद्ध खेलाडीको हकमा पनि यही नियम लागू हुने छ। उनीहरुले सम्बन्धित विभागबाट ‘रिलिज लेटर’ लिएर आफू जान चाहेको टिमको नाम संघमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।

यसका साथै कास्की जिल्ला क्रिकेट संघले आफ्नो क्षेत्र अन्तर्गत रहेका नयाँ क्लबहरुका लागि दर्ता प्रक्रिया पनि खुल्ला गरेको छ।

Scroll to Top