कलाकार प्रतिष्ठानद्वारा प्राज्ञ ज्याति सम्मानित

पोखरा । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पोखरा प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएकी सर्जक ज्योति गुरुङलाई सम्मान गरेको छ । प्रतिष्ठानको गुरुङको आर्ट ग्यालरी रानीपौवामा बधाईपत्र, खादा र फूलले सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष निरज कायस्थले स्वागत गर्दै कायस्थ प्रतिष्ठानको सहसचिव गुरुङलाई आगामी दिनमा थप सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेश प्राज्ञ बाबुराम बस्ताकोटी, प्राज्ञ बुद्धि गुरुङ, बरिष्ठ कलाकार एवं प्रतिष्ठानका संरक्षक क्षेत्रलाल कायस्थ, प्रतिष्ठानका सदस्य केदार धमला लगायतले शुभकामना दिँदै पोखरा प्रज्ञा प्रतिष्ठानको गरिमा बढाउन कलाकार ज्योति गुरुङको भूमिका बृहद् हुने बताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्राज्ञ कमल पौडेल अथकले कलालाई सवैले सम्मान र मनन् गर्न सके समाज सकारात्मक भएर अघि बढ्ने बताए । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराका सचिवसमेत रहेका पौडेलले कलाकारको जीवन सामान्य भएसँगै आउने चुनौति र राज्यलाई गरेको योगदानको मुल्यांकन राज्यले गर्न नसकेको चर्चा गरेका थिए ।

सम्मानित प्राज्ञ गुरुङले प्रतिष्ठानले सम्मान गरेर आफूलाई थप हौसला प्रदान गरेकोमा धन्यवाद दिँदै यस क्षेत्रको उन्नयनमा सधै क्रियाशील भएर लाग्ने बताईन् ।

Exit mobile version