मेडिकल कलेजहरुले सिट निर्धारण हुने समयमा आफ्नो ‘प्राध्यापक’ भनेर देखाउन विदेशी चिकित्सक ल्याउने गरेको पाइएको छ ।
केही कलेजले आवश्यक मापदण्ड पुरा गराउन विदेशी चिकित्सकको समेत नाम देखाएर सिट पाउने प्रयास गरेको भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी) पछिल्लो समय थप खोजमा लागेको हो ।
मेडिकल कलेजहरूले देखाउने यस्ता विदेशी चिकित्सकलाई ‘खडेबाबा’ भन्ने गरिएको छ । यिनै खडेबाबा देखाएर सिट लिने गरेको पाइएपछि काउन्सिलले उनहिरुको सर्टिफिकेटलगायत प्रमाणपत्रका जाँच अघि बढाउने बताएको छ ।
काउन्सिलले नेपालमा कार्यरत केही विदेशी चिकित्सकहरुले पेश गरेका कागजात नक्कली भेटिएपछि उनीहरुको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । काउन्सिलले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
नेपालमा संचालित मेडिकल वा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरुमार्फत विदेशी नागरिक चिकित्सकहरु ुफरेन नेशनल डक्टर्सु दर्ताका लागि पेश गरिएका कागजातको आधिकारिकता माथि गम्भीर शंका उत्पन्न भएपछि काउन्सिलले अनुसन्धान सुरु गरेको थियो ।
सम्बन्धित देशको मेडिकल काउन्सिलसँग आधिकारिक रुपमा प्रमाणीकरण गर्दा केही चिकित्सकले पेश गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित नियामक निकायबाट जारी नभएको र फर्जी रहेको पुष्टि भएको काउन्सिलले जनाएको छ ।
फर्जी कागजात पुष्टि भएका र छानबिनको प्रक्रियामा रहेका अन्य विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया हाललाई रोकिएको छ ।
यसका साथै कागजातको आधिकारिकता यकिन नगरी दर्ता सिफारिस गर्ने सम्बन्धित मेडिकल वा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पताल, आवेदक विदेशी नागरिक चिकित्सक र सनाखत गर्ने नेपाली चिकित्सकहरुसँग समेत काउन्सिलले लिखित स्पष्टीकरण माग गरेको छ । उनीहरुलाई आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने निर्णय समेत भएको छ ।
यस घटनालाई गम्भीर रुपमा लिँदै काउन्सिलले नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत विदेशी नागरिक चिकित्सकहरुको दर्ता अवस्था, कार्यस्थिति तथा व्यावसायिक गतिविधिको आवश्यक अनुसन्धान गर्न एक विशेष समिति समेत गठन गरेको छ ।
नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक विदेशी नागरिक चिकित्सकको योग्यता तथा पेशागत कागजातको पूर्ण प्रमाणीकता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको काउन्सिलले उल्लेख गरे ।
सूचनामा भनिएको छ, ‘सम्बन्धित मेडिकल वा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरुले विदेशी नागरिक चिकित्सक दर्ताका लागि नेपाल मेडिकल काउन्सिल समक्ष सिफारिस गर्दा पेश गरिएका कागजातहरुको आधिकारिकता यकिन नगरी सिफारिस गरेमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाको नै रहनेछ ।’
