कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीमा मोदी खोलामा आएको बाढीले एउटा पुल र अन्नपूर्ण मन्दिरको आधा भाग बगाएको छ।
बाढीका कारण फँसेका मन्दिरका पुजारी र दुई जना भक्तजनको भर्खरै सकुशल उद्धार गरिएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिएका छन् ।
थप क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार गएराति साढे २ बजेपछि आएको बाढीले पोखराबाट घान्द्रुक जाने सडकसमेत अवरुद्ध भएको छ।
यसअघि अन्नपूर्ण गाउँपालिका–१० को घान्द्रुक जाने सडकखण्डमा मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकमा क्षति पुर्याएको थियो।
पालिका अध्यक्ष केसी स्थानीयसहित घटनास्थलमै रहेका छन् । उनले सुरक्षा निकाय र स्थानीयको पहलमा स्थिति थप भयावह हुन नदिन प्रयास भइरहेको जनाए ।
