पोखरा महानगरपालिका वडा नम्बर ३१ भाटामुलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
साउन २३ गते दिउँसो करिब ३:५५ बजेको समयमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ४ बुक ताससहित फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।
