पछिल्लो ४ महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएकाले बजारमा अभाव देखिएको भन्दै एलपी ग्यास उद्योग संघ नेपालले कम्तीमा एक महिनालाई पुग्ने ग्यास भए तत्काल लाइनमा नबसिदिन आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको द्वन्द्व र आधा सिलिन्डर ग्यास वितरणका कारण सिर्जना भएको समस्या समाधान गर्न आयात बढाइएको संघले मंगलबार अपिलमार्फत स्पष्ट पारेको छ ।
विगत केही समयदेखि तेस्रो मुलुकमा भएको अप्रत्यासित द्वन्द्वले ग्यास आयात प्रभावित भएको थियो । त्यस समयमा उपभोक्ताको सहजताका लागि ७.१ केजी ग्यास भएको आधा सिलिन्डर मात्र उपलब्ध गराइएको थियो ।
अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिएपछि साविक बमोजिम नै १४.२ केजीको भरिएको सिलिन्डर बजारमा पठाउन थालिएको संघले जानकारी दिएको छ ।
ग्यास नियमित आयात हुँदा पनि बजारमा अभाव देखिनुको मुख्य कारण माग र आपूर्तिको सन्तुलन नमिल्नु रहेको संघको ठहर छ ।
विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको तथ्यांक छ । लामो समयसम्म आधा सिलिन्डर प्रयोग गरेका उपभोक्ताले अहिले एकैपटक खाली सिलिन्डर भर्न खोज्दा लाइन लाग्नुपर्ने अवस्था आएको हो ।
‘समस्याको उचित समाधानका लागि नेपाल आयल निगम, उद्योगी, विक्रेता र उपभोक्ताले एक आपसमा हातेमालो गर्नुपर्छ,’ संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले भने, ‘यसो गर्न सके छोटो समयमै बजार सहज बनाउन सकिन्छ ।’ कम्तीमा १ महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबसिदिन पनि उनले आग्रह गरे ।
बिक्रेतालाई उपलब्ध भएको ग्यास आम उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न संघले निर्देशन दिएको छ ।
उद्योग र निगमले बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्ने कार्यमा इमानदार भएर लागेको दाबी गरेका छन् । उपभोक्तालाई अनावश्यक व्ययभार नथपियोस् भनेर साविक बमोजिमकै भरिएको सिलिन्डर प्रयोगलाई नियमित गरिएको संघले जनाएको छ ।
