अविरल वर्षासँगै आएको पहिरोका कारण म्याग्दी र कास्कीका दुई महत्त्वपूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भर्खरै जारी गरेको सूचनाअनुसार म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र कास्कीबाट लमजुङ जाने भित्री पक्की सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएका हुन् ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित बैसेरीमा सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसेको छ । पहिरो खसेसँगै बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कास्की जिल्लाको रुपा गाउँपालिका वडा नम्बर ४ स्थित धामी गाउँमा पनि माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको छ । राज चौतारा पोल्यांग हुँदै लमजुङ जाने भित्री पक्की सडकखण्डमा पहिरोसँगै बाटोमा ढुंगा र माटो थुप्रिएका कारण उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु र सवारीसाधनहरू बाटोमै रोकिएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले विपद् सम्बन्धी सूचना, समस्या, गुनासो र सुझावका लागि फोन नम्बर १२३४ मा सम्पर्क गरी सम्बन्धित जिल्लाकै डिइओसी (आपत्कालीन कार्य सञ्चालन केन्द्र)मा जानकारी गराउन सकिने जनाएको छ ।
