सारा म्यालोरी, जसले पिलाटेस स्टुडियो बन्द गरेर पर्वतारोहणमा लागिन् र बिलाइन्

यस वर्षको सुरुआतमै, टेक्सासको सान एन्टोनियोस्थित आफ्नो पिलाटेस स्टुडियो बन्द गर्दै सारा म्यालोरी गाइसले आफ्ना साथीहरूलाई आफ्नो जीवन अब कुन दिशातर्फ अघि बढ्दैछ भन्नेबारे बताएकी थिइन्।

उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘जीवनले कहाँ पुर्‍याउँछ भनेर हेर्न, म अज्ञात यात्रामा ठूलो विश्वासका साथ कदम चाल्दैछु। मलाई लाग्छ, अब मेरो जीवनमा धेरै हेल्मेट, हार्नेस र क्र्याम्पनहरू (हिउँमा हिँड्न प्रयोग हुने विशेष जुत्ताका काँटी) जोडिनेछन्।’

त्यही साहसी निर्णयले उनलाई पाकिस्तानको ब्रड पिक हिमालको चिसो र विरल हावायुक्त उचाइसम्म पुर्‍यायो। कराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोमा परी गाइसको मृत्यु भयो।

उनी नेपालमा जन्मिएका चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोहण टोलीमा सहभागी थिइन्। बिहीबार आएको हिमपहिरोमा उनी परेकी थिइन्। सीएनएनसँग आबद्ध केईएनएसका अनुसार उनको उमेर ३९ वर्ष थियो।

पाकिस्तानी आरोहण कम्पनी मुभिङ माउन्टेन्सका अनुसार, गाइसको यो पहिलो ८,००० मिटरभन्दा अग्लो हिमाल आरोहण प्रयास थियो। विश्वभर यस्ता हिमालको संख्या केवल १४ वटा मात्र छ।

यात्राअघि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म पाकिस्तानमा मेरो पहिलो ठूलो पर्वतारोहण अभियानका लागि निस्किँदैछु। हेरौँ, यो शरीर र यी जुत्ताले विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकको शिखरसम्म पुग्न सक्छन् कि सक्दैनन्।’

गाइस यसअघि सान एन्टोनियो स्पोर्ट्स नामक संस्थाको बोर्ड सदस्य पनि रहिसकेकी थिइन्। उक्त संस्थाले सहरमा प्रमुख खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने काम गर्छ। संस्थाले विज्ञप्तिमार्फत उनको ‘साहसी भावना’ र उदारताको प्रशंसा गर्दै ‘उनले हाम्रो समुदायमा पुर्‍याएको योगदान कहिल्यै बिर्सिने छैन’ जनाएको छ।

पर्वतारोहणमा लाग्नुअघि गाइस आफ्ना पिता जर्ज गाइससँग पारिवारिक रियल इस्टेट व्यवसायमा संलग्न थिइन्। केईएनएससँग कुरा गर्दै जर्ज गाइसले छोरी यसअघि पनि उक्त क्षेत्रमा यात्रा गरिसकेकी र यस यात्राका लागि पनि आफूहरूबाट समय मागेकी बताइन् ।

उहाँले भन्नुभयो, ‘उनी यही गर्न चाहन्थिन्—पर्वतमा पदयात्रा गर्न। उनी अत्यन्त सकारात्मक, बुद्धिमान् र आफूले चाहेको लगभग जुनसुकै काम गर्न सक्ने व्यक्ति थिइन्।’

आगामी दिनबारे बोल्दै जर्ज गाइसले अहिले परिवारको मुख्य प्राथमिकता छोरीको शव सान एन्टोनियो फर्काउनु रहेको बताउनुभयो।

उहाँले केईएनएससँग भन्नुभयो, ‘यो निकै कठिन छ, साँच्चै कठिन। अहिले हाम्रो मुख्य उद्देश्य उनलाई घर फर्काउनु हो।’

सीएनएनको सहयोगमा

Exit mobile version