रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा वृक्षारोपण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज आयोजित सो कार्यक्रममा वातावरणीय संरक्षण र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रमको पहिलो चरणमा करिब १ सय ५० वटा विभिन्न प्रजातिका फलफूल, फूल तथा अन्य बिरुवाहरू रोपिएका थिए । वृक्षारोपण कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अमृत क्षेत्रीको उपस्थितिमा बिरुवाहरू रोपिएका हुन् ।
कार्यक्रममा रोपिएका बिरुवाहरूको संरक्षण तथा नियमित हेरचाह गर्ने प्रतिबद्धता वडाध्यक्षले व्यक्त गरे ।
वृक्षारोपणपछि अमोर सेवा नेपाल बाल आश्रमका करिब ६० जना बालबालिकाका लागि गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।

शिविरमा दन्त परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षणमा सक्रिय रूपमा सेवा प्रदान गरे ।
कार्यक्रममा रोटरी क्लब अफ नक्साल शक्तिका अध्यक्षसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बाल आश्रमकी सञ्चालिका कमला पराजुलीले क्लब तथा स्वास्थ्यकर्मीहरूको सेवाप्रति आभार व्यक्त गरिन् ।

‘यस्ता मानवीय तथा सामाजिक कार्यक्रमले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्नेछ’ उनले भनिन् ।
नक्साल शक्तिले सामाजिक सेवा, वातावरण संरक्षण तथा स्वास्थ्य प्रवर्धनलाई प्राथमिकतामा राखी आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।







