लेखनाथ उद्योग वाणिज्य संघले सुनसरीको कप्तानगन्ज लगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्ति र तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले अपील जारी गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । अध्यक्ष जानुका पराजुली अधिकारीले जारी गरेको अपीलमा तराईका घटनाले सर्वसाधारणमा त्रास पैदा गरेको उल्लेख छ ।
संघले घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले कसैको पनि हित गर्दैन,’ अपीलमा भनिएको छ ।
यस्ता घटनाले सर्वसाधारणको दैनिक जीवनयापनसँगै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्याएको संघको ठहर छ । सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धिको पूर्वशर्त भएको संघले स्पष्ट पारेको छ ।
अपीलमा जस्तोसुकै मतभेद वा असझमदारीको समाधान शान्तिपूर्ण वार्ता र संवादबाट मात्र सम्भव हुने उल्लेख छ । संघले सुनसरीको कप्तानगन्ज लगायतका क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ ।
‘स्थानीय प्रशासनले नागरिकको जिउधनको सुरक्षामा विशेष ध्यान दिनुपर्छ,’ संघले भनेको छ । कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन पनि संघले नागरिकहरूलाई अनुरोध गरेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको भन्दै संघले तराई–मधेश क्षेत्र भाइचारा र सहिष्णुताको केन्द्र रहेको स्मरण गराएको छ ।







