रोटरी क्लब अफ नक्साल शक्तिको पाँचौँ इन्स्टलेसन तथा ह्यान्डओभर कार्यक्रम पोखराको लेकसाइडमा भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का लागि कृष्ण पौडेलले नेतृत्व सम्हालेका छन् ।
गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका सचिव डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आरआई डिस्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नरहरू, पोखरास्थित विभिन्न रोटरी क्लबका अध्यक्षहरू, वर्तमान तथा निवर्तमान पदाधिकारीहरू, रोटेरियनहरू तथा रोटरी क्लब अफ नक्साल शक्तिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा रोटरी वर्ष २०२५–२६ का निवर्तमान अध्यक्षबाट नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेललाई औपचारिक रूपमा पद हस्तान्तरण गरिनुका साथै नयाँ कार्यसमितिको इन्स्टलेसन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पाण्डेले रोटरीजस्तो सामाजिक सेवामूलक संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरे ।
सो अवसरमा च्याप्टर प्रेसिडेन्ट डा. लुना अर्यालले रोटरी इन्टरनेसनल तथा रोटरी क्लब अफ नक्साल शक्तिका उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी दिइन् । कार्यक्रममा गत वर्ष सम्पन्न भएका प्रमुख कार्यक्रमहरूको समीक्षा तथा चालु रोटरी वर्षमा संचालन गरिने विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य तथा रोटेरियन सन्तोष पोखरेललगायत पोखराका विभिन्न रोटरी क्लबका अध्यक्षहरू, वर्तमान तथा निवर्तमान पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेल एवं कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनीहरूले रोटरीका सेवामूलक अभियानहरू अझ प्रभावकारी रूपमा अगाडि बढून् भन्ने विश्वास व्यक्त गरे ।
यस वर्ष आरसी क्लब अफ नक्साल शक्तिले समुदायको स्वास्थ्य, शिक्षा र सामाजिक सेवालाई केन्द्रमा राखेर विभिन्न प्रभावकारी कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको छ ।
सबैभन्दा पहिले, आरआई डिस्ट्रिक्ट ३२९२ को मुख्य लक्ष्य ‘गोल प्रोजेक्ट’ अनुरूप निःशुल्क भिआइए स्क्रिनिङ प्रोग्राम संचालन गर्ने क्लबको प्रमुख योजना छ ।
यस कार्यक्रमका लागि आरआई डिस्ट्रिक्ट ३२९२ सँग सहकार्य गर्दै गण्डकी मेडिकल कलेज, पोखरा, यूसीएमएस मेडिकल कलेज, भैरहवा, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, तथा संजीवनी अस्पताल, नेपालगञ्ज लगायतका स्वास्थ्य संस्थासँग समझदारी ‘एमओयू’ गरी नेपालका विभिन्न जिल्ला तथा दुर्गम क्षेत्रमा निःशुल्क भिआई स्क्रिनिङ सेवा प्रदान गरिनेछ ।
यो यस वर्षको मुख्य ‘फ्ल्यागसिप’ प्रोजेक्ट हुने र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता क्लबले गरेको छ ।

त्यसैगरी, क्लबको अर्को प्राथमिकता स्वास्थ्य शिविर ‘हेल्थ क्याम्प’ रहेको छ । रोट्र्याक्ट क्लब अफ नक्साल शक्तिले विगतदेखि नै देशका विभिन्न स्थानमा सफल स्वास्थ्य शिविर संचालन गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ । विशेष गरी मानसिक स्वास्थ्य ‘मेन्टल हेल्थ’, दन्त स्वास्थ्य ‘डेन्टल हेल्थ’, बाल स्वास्थ्य परीक्षण ‘चिल्ड्रेन हेल्थ चेकअप’, जनरल हेल्थ चेकअप तथा स्वास्थ्य सचेतना कार्यक्रम ‘अवेयरनेस प्रोग्राम’ लाई प्राथमिकतामा राखी विभिन्न समुदायमा सेवा प्रदान गरिनेछ ।
यससँगै, शिक्षा क्षेत्र पनि क्लबको अर्को प्रमुख प्राथमिकतामा छ । दुर्गम तथा आवश्यकतामा रहेका विद्यालयहरूमा स्टेसनरी सामग्री, कम्प्युटर, खेलकुद सामग्री वितरण गर्ने, शिक्षकहरूका लागि प्रेरणामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम, र विद्यार्थीहरूका लागि ‘मोटिभेसनल स्पिच’ तथा व्यक्तित्व विकासका कार्यक्रम संचालन गर्ने योजना रहेको छ । शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी निरन्तर काम गर्ने क्लबले जनाएको छ ।







