राष्ट्रबैंक चोकका चर्चित जुस पसलमा कैफियतः केही कारवाहीमा, केही हाजिरी आदेशमा

जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुमगन टोलीले राष्ट्रबैंक चोकका ८ जुस पसलमा पनि कैफियत भेटेको छ ।

टोलीमा रहेका कास्की सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्रांगत बरालले केही पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन नसकेको बताए ।

त्यस्तै, पसलमा सरसफाइको अवस्था निकै दुर्गन्धित रहेको टोलीले जनाएको छ । टोलीले केही पसलमा गोदाम र फोहोर राख्ने कोठा एउटै भएको पनि भेटेको थियो ।

त्यस क्षेत्रमा सञ्चालनमा रहेका ८ मध्ये ३ वटा पसललाई जरिवाना गरिएको प्रवक्ता बरालले जानकारी दिए । हन्ड्रेस प्रसेन्ट फ्रेस जुस सेन्टर, जुस बक्स पोखरा र रअ जुस पोखरालाई ५०/५० हजार रुपैयाँ जरिवाना तोकिएको उनले बताए ।

किङ्स जुस तथा फलफूल पसल, अम्बिका जुस, जुस टाइम, द जुस पसल र जुस हाउसलाई सचेत आवश्यक कागजपत्रसहित ७ दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन आदेश दिएको प्रवक्ता बरालले जानकारी दिएका छन्।

‘उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार जरिवाना गरिएको हो,’ बरालले भने । उनले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताए ।

प्रशासनले केही दिनअघि लेकसाइडमा सञ्चालनमा रहेको फ्रेस जुस पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । । जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कारबाही भएको थियो ।

अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए ।

त्यस्तै सञ्चारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरु पनि सहभागी थिए । प्रशासनले पसल सञ्चालकलाई जरिवाना तिराउनुका साथै विभिन्न सुधारका निर्देशनहरु समेत दिएको छ ।

Exit mobile version