वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द हुने भएका छन्।
साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कानुनी दायरा विपरीत हातपात गरेको थियो।
उक्त आक्रमणका क्रममा डा. प्रमोद राम गम्भीर घाइते भएका छन् भने उनको टाउकोमा गहिरो चोट लागेको छ। स्वास्थ्यकर्मीको सुरक्षा र आत्मसम्मानमाथि लगातार आक्रमण भइरहेको भन्दै चिकित्सकहरू कडा आन्दोलनमा उत्रिएका हुन्।
घटनाको विरोधस्वरूप नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशैभरका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण नियमित स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसप्रति राज्यको उदासीनता तथा दमनको विरोधमा आज मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्दछौँ।’
संघले वीरगञ्जको घटनामा प्रत्यक्ष रूपमा संलग्न दोषीहरूलाई तत्काल कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भयरहित वातावरणमा सेवा दिने अवस्था सिर्जना नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने चेतावनी पनि संघले दिएको छ।
