कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ फाल्भञ्ज्याङमा नवनिर्मित कृषि तथा पशु सेवा शाखा कार्यालयको भवन उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष नवराज ओझाले एक विशेष कार्यक्रमका बीच उक्त भवनको विधिवत् उद्घाटन गरे।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिए। उनले कृषिलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्ने गरी विभिन्न कार्यक्रमहरू संचालन भइरहेको समेत बताए।
उद्घाटन कार्यक्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले कृषकको प्रयासलाई पालिकाले पनि सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत किसानको भावनाअनुसार काम गर्दै जाने बताइन्।
पशु शाखा प्रमुख एवं पशुचिकित्सक सुशील अर्यालले नयाँ सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने अपेक्षा व्यक्त गरे। त्यस्तै, कृषि विकास शाखा प्रमुख प्रकाश धानुकले कार्यालयले अबका दिनमा किसानहरूलाई थप नयाँ र परिमार्जित सेवासुविधासहित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले पालिकाबासीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले स्थानीय सरकारले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइरहेको बताए।
वडा नम्बर २ का अध्यक्ष राजन सुवेदीले कृषकहरू पनि प्रविधिसँग जोडिनुपर्ने बताए। उनले कृषि उत्पादनलाई बजारीकरण गर्न वडा कार्यालयसँगै पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा नम्बर ५ का अध्यक्ष राजन खनालले पालिकाबाट प्राप्त भएको सुविधालाई कृषि उत्पादनमा भरपुर सदुपयोग गर्न आग्रह गरे। समृद्ध रुपा गाउँपालिका बन्नका लागि कृषि उत्पादन वृद्धि हुनुपर्नेमा खनालले जोड दिए।
नयाँ भवन निर्माणसँगै स्थानीय कृषकहरूले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशु संबन्धी सेवाहरू प्राप्त गर्न सक्नेछन्। पालिकामा नै कृषि र पशु सेवा संबन्धी प्राविधिक ल्याबको सुविधासमेत प्राप्त हुने भएको छ।
कार्यक्रममा पालिकाले कृषि उत्पादनलाई बजारीकरणका लागि प्रविधिसँग जोड्ने प्रयासस्वरूप ‘कृषि एप’ संचालनमा ल्याउने भएको छ। सो संबन्धमा कार्यक्रममा कृषकसँग छलफलसमेत गरिएको छ।
कृषकको सुझाव समेटेर एपमार्फत कृषि उत्पादनलाई बजारीकरण गरिने सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले जानकारी दिए।







