पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयको नेतृत्व बलबहादुर थापाले लिएका छन् । अध्यक्ष चयन भएका थापाले विद्यालयमा प्रविधि र गुणस्तरलाई महत्व दिई पठनपाठनमा अघि बढ्ने बताएका छन् ।
थापाले पोखराको प्रतिष्ठित प्रतिभा माध्यमिक विद्यालयमा २ दसकभन्दा बढी सफल नेतृत्व गरेका छन् ।
अध्यक्ष थापाले देशको आर्थिक मन्दी र सरकारी नीतिको अन्योलका बीच पनि ६५ करोड रुपैयाँ लगानी गर्ने जोखिम लिएको बताए ।
‘हामीले केवल नाफा कमाउनका लागि मात्र होइन, यस क्षेत्रमा लामो समय बिताएकाले एउटा उत्कृष्ट र नमूना विद्यालय बनाउन यो जोखिम मोलेका हौँ,’ थापाले भनेका छन् ।
यसैबीच टप्सले डा. झपिन्द्र अधिकारीलाई प्राचार्यमा नियुक्त गरेको छ । गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक र शैक्षिक नेतृत्व गरेका अधिकारी रसायनशास्त्रमा विशेष दख्खल राख्छन् ।
नयाँ व्यवस्थापनले विद्यालय सम्हालेको एक वर्षमै विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ । गत वर्षसम्म ४ सय ५० विद्यार्थी रहेको यस विद्यालयमा अहिले १ हजार ६ सय पुगेका छन् ।
विद्यालयले झण्डै १० रोपनी क्षेत्रफलमा आफ्नै जग्गा र सुविधासम्पन्न भवनसहित पूर्वाधार विस्तार गरेको छ ।
विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ । कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा छन् ।
