‘अप्टा’ सुपरकम्प्युटरको गणितीय प्रक्षेपण अनुसार यस पटक स्पेनले विश्वकप जित्ने सम्भावना ५९.४६ प्रतिशत रहेको छ। यस्तै, सन् २०२२ को साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा गर्ने सम्भावना ४०.५४ प्रतिशत मात्र देखिएको छ।
फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र बलियो प्रतिद्वन्द्वी स्पेन आइतबार मध्यरातमा न्यूजर्सीमा आमनेसामने हुँदै छन्। ३९ दिन लामो यस भव्य प्रतियोगिताको अन्तिम खेलमा विश्व फुटबलका हस्ती मैदान उत्रन लागेका हुन्।
न्यूजर्सीको मैदानमा हुने यो भिडन्त एक अनौठो टक्करका रूपमा हेरिएको छ, जहाँ यस विश्वकपकै उत्कृष्ट आक्रमण र सबैभन्दा बलियो रक्षापंक्ति आमनेसामने हुनेछन्।
अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा बढी १९ गोल गरेको छ भने स्पेनले हालसम्म सबैभन्दा कम मात्र १ गोल बेहोरेको छ। यसका साथै, विश्वकपको इतिहासमा ६० वर्षपछि पहिलो पटक दक्षिण अमेरिकी र युरोपेली च्याम्पियन उपाधिका लागि सिधै भिड्न लागेका हुन्।
यो फाइनल खेल ऐतिहासिक हुनुको अर्को कारण ‘पुस्ताको लडाइँ’ पनि हो। मैदानमा स्पेनका १९ वर्षीय युवा उदीयमान खेलाडी लामिन यमालले आफ्ना बाल्यकालका नायक ३९ वर्षीय लियोनेल मेसीको सामना गर्नेछन्।
