पोखरा महानगरपालिका २६ कालीकाचोकमा सेतो ढुंगाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई जिल्ला प्रहरी कास्कीले नियन्त्रणमा लिएको छ ।
भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा उनीहरूको साथबाट विभिन्न सामग्री समेत बरामद भएको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला, फलेवास नगरपालिका ५ घर भएका ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र सोही ठाउँकी ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन ।
त्यस्तै, म्याग्दी जिल्ला, मालिका गाउँपालिका ४ घर भई हाल पोखरा महानगरपालिका २६ बस्ने ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीकै रघुगंगा गाउँपालिका ५ घर भई हाल पोखरा २७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे र कास्कीको पोखरा २१ निर्मलपोखरी घर भई हाल पोखरा ५ मालेपाटन बस्ने ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरूको साथबाट सेतो टल्किने ‘क्रिस्टल’ जस्तो लाम्चो देखिने वस्तु १ थान, काठको ‘फोल्डिङ’ बट्टा १ थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर १ थान तथा ६ थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







