कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत मोदी खोलामा आइतबारको भीषण वर्षाले बाढी आउँदा पर्यटकीय गाउँ घान्द्रुक सडक सञ्जालबाट टाढिएको छ ।
गाउँपाललिकाका सूचना अधिकारी भरतमान गुरुङले दिएको जानकारी अनुसार अन्नपूर्णको वडा ८ र १० को सिमानामा पर्ने सेउलीबजारमा सबैभन्दा बढी क्षति भएको छ ।
बाढीले स्थानीय दिलिप गुरुङको घर तथा रेष्टुरेन्ट बगाएको छ भने जगन पुनको रेष्टुरेन्ट क्षतिग्रस्त भएको छ । त्यस्तै, अन्य घरहरु समेत जोखिममा परेको उनले जानकारी दिए ।
सडक मार्ग अवरोध हुँदा स्थानीयवासी आवतजावत र किनमेल गर्न अन्यत्र जान सकेका छैनन् । साथै, तत्काल सडक मर्मत असम्भव रहेको गुरुङको भनाई छ ।
उक्त क्षेत्रमा आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय अधिकारीको टोलीले थप क्षति हुन नदिन र सडक मार्ग खुलाउन विमर्श गरिरहेका छन् । त्यस्तै, जिल्लाको विपद् एवं उद्धार टोली पनि तयारी अवस्थामा रहेको बताइएको छ ।
