नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न ४५ औँ वार्षिक शाखा सभाले पुनः नविन सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा. लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए ।
सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए ।
उनले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा युवामैत्री स्वास्थ्य सेवाको पहुँच विस्तारमा स्थानीय सरकार र संघबीच सहकार्यलाई अझ प्रभावकारी बनाएर अघि बढ्ने बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव अर्जुन सिग्देल, पूर्व केन्द्रीय सदस्य किशोरदत्त बराल, आजिवन सदस्य चन्द्रकृष्ण कर्मचार्य, सम्झना थापा, शंकर ज्ञावलीले शाखाले गरेका कार्यहरु उत्कृष्ट रहेको बताउँदै आगामि दिनमा शाखाको सेवा विस्तार, संस्थागत सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
नवनिर्वाचित सभापति सिग्देलले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै शाखाको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता जनाए ।
