गोरखाको स्याउली बजार–भट्ट फाँट–मनकामना सडक अन्तर्गत लुदी खोला मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
८ महिनामै तयार भई सञ्चालनमा आएको पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
‘८ महिना अघि आफैले शिलान्यास गरेको पुलको उद्घाटन गर्न पाउँदा खुशी छु’ मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘निर्माण अवधि सकिनुभन्दा अघि नै सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहरण हो।’
समयमै मात्र होइन, समयभन्दा अगावै गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नै सुशासन र विकासप्रतिको प्रतिबद्धता रहेको समेत पाण्डेले बताए ।
उनले भनेका छन् ‘गण्डकी प्रदेश सरकार नागरिकको जीवनलाई सहज बनाउने, आर्थिक गतिविधिलाई टेवा पुर्याउने र विकासको प्रत्यक्ष अनुभूति दिलाउने यस्ता पूर्वाधार निर्माणलाई निरन्तर प्राथमिकतामा राखेर अघि बढिरहनेछ।’
७ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण भएको ६० मिटर लामो यस पुलले गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाबीचको आवागमनलाई थप सहज बनाएको छ ।
साथै, प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना मन्दिर पुग्ने भक्तजनका लागि पनि यात्रा थप सुरक्षित, छिटो र सहज बनेको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन्।







