होल्डिङ सेन्टर डुबानपछि केहीलाई त्रिविमा आश्रय, कोही सेन्टरमै बस्ने

बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित भएका छन् ।

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।

उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन्। साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो छ।

होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।

अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्। पीडितहरुले अहिले होल्डिङ सेन्टरबाट भिजेको आफ्नो सामान निकाल्दैछन् ।

Scroll to Top