पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् ।
फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ ।
पोखराको पत्रकारिताको क्षेत्रमा रहेर कौराहा सहित मगर समुदायको संस्कार र संस्कृतिको विषयमा लामो समयदेखि कलम चलाउँदै आइरहेकी थापालाई यो वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनौट समितिका संयोजक श्रीसले बताए । संयोजक श्रीसका अनुसार पत्रकार थापालाई नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरिने छ ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा असार २६ गते शुक्रबार पोखराको अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरमा एक कार्यक्रमको आयोजना गरि पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीसले जानकारी दिए ।
यस पुरस्कारबाट यसभन्दा अघि कमला रानामगर, तिलक पुनमगर, प्रताप रानामगर, खेम सारुमगर, एमबी आस्थामगर, मनोज घर्तीमगर, रुद्र श्रीसमगर र शारदा झेडीमगर सम्मानित भइसकेका छन् ।
