स्वास्थ्यकर्मी निबेश पक्राउ, तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेका धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेले माथिल्लो निकायको निर्देशनअनुसार पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

पक्राउ परेका अधिकारी हेल्थ असिस्टेन्ट (एचए) हुन् । उनी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका साथै लोकसेवा आयोगको तयारीसमेत गरिरहेका थिए । पछिल्लो समय उनले स्वास्थ्यमन्त्री निशा मेहताको कार्यशैलीमाथि सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गर्दै आएका थिए ।

अधिकारीले सेवा-सुविधा, दरबन्दी, पेशागत असुरक्षालगायतका पीडा पोख्दै समस्या समाधान गर्न नसके राजीनामा गर्न भनेका थिए ।

गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो रङले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए ।

अर्को स्टाटसमा उनले लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरिब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ । अख्तियार के गर्दैछ ? लाज बेचिसक्यौ भने स्वास्थ्यमन्त्री पदबाट राजीनामा देऊ ।’

यसैबीच, स्वास्थ्य मन्त्री निशा मेहताको ठाडो आदेशमा बिना पूर्जी अस्पताल बाटै पकाउ गरिएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियान केन्द्रीय समितिले बिना शर्त रिहाइको माग गरेको छ ।

‘पीडिततलाई नै पक्राउ गर्नु राज्य आतंक हो’ संघर्ष समितिले भनेको छ ‘अन्यथा राज्य आतंकविरुद्ध आन्दोलनमा जान बाध्य हुने छौं ।’

Exit mobile version