‘प्रधानमन्त्रीसँग भएको २ सय तोला सुनको स्रोत के हो ?’ – कांग्रेस नेता आङ्देम्बे

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् ।

संसद्लाई सम्बोधन गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री भएलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन र करोडभन्दा बढी बैंक मौज्दात देखिएको भन्दै त्यसको कानुनी स्रोत स्पष्ट हुनुपर्ने माग गरे ।

विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नै नभएको बताउने प्रधानमन्त्रीसँग त्यत्रो सम्पत्ति कहाँबाट आयो भनी जनताले प्रश्न गरिरहेको उनको भनाइ थियो।

विपक्षी दलको मुख्य चासो भ्रष्टाचार नियन्त्रणमा रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री शाहलाई सम्पत्ति छानबिनको चुनौती समेत दिए ।

प्रधानमन्त्रीले अरूको मात्र नभई आफ्नै सम्पत्तिबाट छानबिनको सुरुवात गर्नुपर्ने उनले बताए । नेता आङ्देम्बेले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष र अर्थपूर्ण बनाउनका लागि सर्वप्रथम आफू र प्रधानमन्त्री बालेन्द्र शाहकै सम्पत्तिबाट अनुसन्धान थाल्न प्रस्ताव गरे ।

उनले पाँचथरमा रहेको आफ्नो पाखोबारी र सम्पत्तिको छानबिन गर्न सरकारलाई खुला आह्वान गर्दै प्रधानमन्त्रीको दुई सय तोला सुनको पनि पारदर्शी अनुसन्धान हुनुपर्ने जिकिर गरे ।

आफूमाथि छानबिन नगर्ने तर अरूमाथि मात्रै प्रश्न उठाउने परिपाटी लोकतन्त्रमा स्वीकार्य नहुने उनको तर्क थियो ।

Exit mobile version