जिल्ला प्रशासन कार्यालय कास्कीको अनुगमन समितिले अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजाघरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
टोलीले अनुगमन गर्दा सरसफाइमा नभएको, मूल्यसूची नराखिएको, नापतौलका सामग्री नवीकरण नगरेको, जथाभावी फोहोर फालेको पाइएपछि जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
भूपि शेरचन राजमार्गअन्तर्गत अन्नपूर्ण–२, ढिकुरपोखरीमा रहेको रेष्टुरेण्टमा खाना तथा खाजा खानेहरुको भीड लाग्ने गरेको भएता पनि सरसफाइ नभएकाले कारबाही गर्नुपरेको बरालले बताए ।
रेष्टुरेन्टका संचालक मनहरि भण्डारीलाई एक हप्ताभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ ।
