फिफा २०२६ः प्री-क्वाटरफाइनल समीकरण पुरा, ४ पटकको विजेता बाहिरियो

फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो ।

४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।

साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड अफ ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित भयो ।

नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकरमा पराजित गर्दा नर्वेले आइभरी कोस्टलाई अनि फ्रान्सले स्वीडेनलाई पराजित गरे ।

मेक्सिकोले इक्वेडरलाई पराजित गर्‍यो, इंग्ल्यान्डले कङ्गोलाई अनि बेल्जियमले सेनेगललाई पराजित गर्‍यो । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाको चुनौती समाप्त गर्‍यो ।

स्पेनले अस्ट्रियालाई पराजित गर्दा पोर्चुगलले क्रोएसिया अनि स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्‍यो ।

इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्‍यो । अर्जेन्टिनाले केप भर्डेलाई अनि कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान पक्का गरे ।

राउन्ड अफ १६

अन्तिम १६ को पहिलो खेल क्यानडा र मोरक्कोबीच हुनेछ । उक्त खेल आजै राति पौने ११ बजे हुनेछ ।

त्यस्तै अर्को खेलमा पाराग्वे र फ्रान्सले भोलि बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

ब्राजिल र नर्वेबीच सोमबार बिहान पौने २ बजेदेखि खेल हुनेछ । त्यही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि खेल्ने छन् ।

मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । त्यही दिन बिहान अमेरिका र बेल्जियम पनि खेल्ने छन् ।

मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् । बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया भिड्ने छन् ।

Exit mobile version