गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सी.लगायत गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागितामा फेवातालमा काईकिङ (बोटिङ)सहितको उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको छ।
प्रहरी कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धन, कार्यसम्पादनमा थप ऊर्जा अभिवृद्धि तथा आपसी समन्वयको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
निरन्तर जिम्मेवारी र व्यस्त कार्यतालिकाका बीच प्रकृतिसँग केही समय बिताउँदा मानसिक ताजगी प्राप्त हुने, तनाव व्यवस्थापनमा सहयोग पुग्ने तथा कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वासका साथ फेवातालमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जी.सी., प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइराला, प्रहरी नायव उपरीक्षक राजेन्द्र उपाध्याय, चिरञ्जीवी महतो लगायत प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालमा सम्पन्न उक्त कार्यक्रमले सहभागी प्रहरी कर्मचारीहरूलाई नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोचका साथ संगठन तथा सेवाप्रति थप समर्पित हुन प्रेरणा प्रदान गरेको छ ।
